Monday, March 29, 2010

विश्वका ८ नेताको सूचीमा प्रचण्ड

विश्वको सबैभन्दा ठूलो आर्थिक र सांस्कृतिक मेला, सांघाई एक्स्पोमा चीनले आमन्त्रण गरेका आठ नेताको सूचीमा माओवादी अध्यक्ष प्रचण्ड

बेइजिङ ओलम्पिकको भव्य आयोजनाबाट विश्वलाई चकित पारेको चीन विश्व एक्स्पोको अन्तिम तयारीमा छ । सात वर्षको तयारीपछि १ मेमा सांघाई एक्स्पो आयोजना हुँदै छ ।
आयोजक चीनले एक्स्पोका बारेमा विश्वका एक सय सेलेबि्रटीसँग उनीहरूको सन्देश मागेको छ । विश्वका उत्कृष्ट सेलिबि्रटीको सन्देश भन्दै चिनियाँ रेडियो, टेलिभिजन र पत्रपत्रिकाले प्रकाशन तथा प्रसारण गरिरहेका छन् ।
एक सय सेलिबि्रटीका सूचीमा आठ नेता छानिएका थिए, आठ नेताको सूचीमा नेपालका पूर्वप्रधानमन्त्री तथा माओवादी अध्यक्ष प्रचण्ड छानिएका थिए । 


प्रचण्डसँगै आयोजक चीनले सिंगापुर सरकारका अभिभावक लि क्वान यु, जर्मनीका पूर्वचान्सलर गेहार्ड सोर्डर, जापानका पूर्वप्रधानमन्त्री यासुओ फुकुदा, अमेरिकाका पूर्वविदेशमन्त्री हेनरी किसिन्जर, न्युजिल्यान्डका पूर्वप्रधानमन्त्री हेलेन क्लार्क र हंगेरीका पूर्वप्रधानमन्त्री पिटर मेगिसीलाई पनि चीनले उत्कृष्ट नेता मानेर सन्देश मागेको थियो । यी सबै नेताले सांघाई एक्स्पोलाई सम्बोधन गर्नेछन् ।

विज्ञान, विकास र संस्कृतिको महाकुम्भ
एक्काइसौँ शताब्दीको सहरी जीवनको सम्पूर्ण भव्यता र चुनौतीलाई प्रस्तुत गर्न आयोजना हुँदै छ सांघाई वल्र्ड एक्स्पो २०१० । विज्ञान, विकास र संस्कृतिसम्बन्धी यो नै पहिलो विश्व मेला भएकाले संसारभरिका सरकार, वैज्ञानिक, व्यवसायी र आमनागरिकलाई आकषिर्त गर्नेछ । 

१ मेमा सुरु हुने र एक सय ८४ दिनसम्म चल्ने यस एक्स्पोको नारा छ- बेटर लाइफ, बेटर सिटी अर्थात्् उन्नत जीवन, उन्नत सहर । करिब दुई देश र पचास अन्तर्राष्ट्रिय संगठन सहभागी हुने यस मेलामा सहभागीले सहर सभ्यतालाई व्यापक पक्ष र दृष्टिबाट प्रस्तुत गर्नेछन् ।
सहभागीले सहर विकासका अनुभव आदान-प्रदान मात्रै गर्ने छैनन्, विकास र व्यवस्थापनका आधुनिक अवधारणा र नमुना पनि प्रस्तुत गर्नेछन् । त्यस्तै, एक्स्पोमा सहभागीले नयाँ शताब्दीको मानव बसोबास र जीवनशैलीबारे नयाँ-नयाँ खोज प्रस्तुत गर्नेछन् । यस एक्स्पोको आधारभूत सन्देश छ- ६ महिनाको विकास योजना तयार गर्दा ६० वर्षलाई ध्यान दिनुपर्छ । 

एक्स्पो नवीन प्रदर्शनी र अन्तक्रिर्यामा केन्दि्रत हुनेछ । मेलाले मानवकेन्दि्रत विकास, वैज्ञानिक र प्राविधिक आविष्कार, सांस्कृतिक विविधता र विश्व साझेदारीमा महत्त्वपूर्ण योगदान पुर्‍याउने आयोजक चीनको अपेक्षा छ ।
साथसाथै, यो एक्स्पो ठूलो अन्तर्राष्ट्रिय भेला पनि हुनेछ । सांघाई एक्स्पोमा सात करोडभन्दा बढी मानिस आउने अनुमान गरिएको छ । 
एक्स्पोले अन्तरसांस्कृतिक संवादका लागि पनि महत्त्वपूर्ण अवसर प्रदान गर्नेछ । एक्स्पोको समापनअघि 'सांघाई घोषणापत्र' जारी गरिनेछ । विश्व मेलाको इतिहासमा कोशेढुंगो साबित हुने विश्वास गरिएको यस घोषणापत्रले एक्स्पोमा सहभागीका अनुभव र विचार समेट्नेछ । 

विश्वको आर्थिक र सांस्कृतिक केन्द्रका रूपमा सांघाई सहरलाई स्थापित गराउने विश्वासका साथ सांघाईवासी पनि मेला सफल पार्न उत्साहसाथ लागिरहेका छन् ।
यस एक्स्पोलाई सफल पार्न चीन सरकारले सम्भाव्य सबै उपाय अपनाएको छ । ओलम्पिकलाई भव्य बनाएर वाहीवाही कमाएको चीनले सांघाई एक्स्पोलाई पनि प्रतिष्ठाको विषय बनाएको छ । त्यसैले उद्घाटनका लागि काउन्टडाउन भइरहँदा तयारी भने पूरा भइसकेको छ । 

सात वर्षको तयारीपछि सांघाई विश्व एक्स्पो कार्यकारी परिषद्का उपप्रमुख याङ स्युङले दाबी गरेका छन्, 'एक्स्पोमा भाग लिने विदेशी सहभागीको संख्याले नयाँ कीर्तिमान कायम राख्नेछ ।' स्युङका अनुसार दुई सय देशका अतिरिक्त चीनका ३१ प्रान्त तथा हङकङ, मकाउ र ताइवानले पनि सांघाई विश्व एक्स्पोमा भाग लिनेछन् ।
दैनिक चार लाख पर्यटकको सत्कार गरिने बताउँछन् स्युङ । सांघाई नगरले विश्व एक्स्पोको अवधिभरि यातायातको प्रस्ताव सार्वजनिक गरेको छ, जसमा एक्स्पोका दर्शकलाई घुम्ने सुविधाको उचित प्रबन्ध गरिएको छ । 

'हामीले धेरै कदम च्ाालेका छौँ,' स्युङले भने, 'पाँच भूमिगत रेल विश्व एक्स्पोको बागबानी र त्यसनजिकका क्षेत्र हँुदै पार गर्नेछन् ।' करिब एक हजार मोटरगाडी, दस विशेष सडक र ९० भन्दा बढी सार्वजनिक बसको बन्दोबस्त गरिएको छ । एक्स्पोमा दैनिक चार लाख दर्शक सहभागी भए पनि उनीहरूको माग सजिलै पूरा गरिनेछ ।'
एक्स्पोमा सुरक्षा व्यवस्था पनि कडा बनाइएको छ । 'कडा तथा उचित कदम चालेर एक्स्पोलाई शान्तिपूर्ण खुसियाली वातावारणमा सम्पन्न गरिनेछ,' स्युङको दाबी छ । 

सांघाई एक्स्पोमा नेपालको प्रदर्शनी
सांघाई एक्स्पोमा नेपालले पनि तामझामसाथ सहभागिता जनाउने भएको छ । राजनीतिक नेतृत्वका रूपमा पूर्वप्रधानमन्त्री तथा माओवादी अध्यक्ष प्रचण्ड सहभागी हुदै छन् भने व्यावसायिक रूपमा इम्पिमेन्टिङ एक्सपोर्ट ग्रुपले सहभागी जनाउँदै छ ।

विश्व प्रदर्शनीमा छुट्टै व्यावसायिक मण्डपसहित सहभागिता जनाउन लागेको नेपालले मौलिक कलात्मक शैलीमा मण्डप निर्माण गरिरहेको छ । नेपालबाटै निर्माणसामग्री लगेर व्यावसायिक मण्डप बनाइएको छ ।
नेपाली व्यावसायिक मण्डप बनाउन व्यवस्थापकीय र आर्थिक संयोजन गर्ने जिम्मा पाएको इम्पिमेन्टिङ एक्सपोर्ट ग्रुपले नेपालमा भइरहेको तीव्र सहरीकरण र यसले मौलिक कलामा पारेको प्रभाव झल्काउने गरी मण्डप बनाएको जनाएको छ । 

परम्परागत वास्तुकला तथा कौशलबाट सुसज्जित बृहत् मण्डपलाई अरनिको मण्डप नाम दिइएको छ । ३६०० वर्गमिटर क्षेत्रफलमा नेपाली राष्ट्रिय मण्डपलाई राखिने भएको छ ।

मण्डपमा नेपाली हस्तकला, वास्तुकला, मूर्तिकला लगायतका सामग्री साथै पर्यटन प्रवर्द्धनका लागि विभिन्न किसिमका सामग्री पनि राखिनेछन् । मण्डपमा नेपाली परिकारका स्टल, बुद्ध, भृकुटी र अरनिकोसम्बद्ध सामग्री तथा नेपालको प्रतिनिधित्व झल्काउने विविध सामग्री राख्ने स्थानसमेत बनाइएको छ ।

३१ अक्टोबरसम्म सञ्चालन हुने मेलाको सात करोडभन्दा बढी दर्शकले अवलोकन गर्ने लक्ष्य राखिएकोमा नेपाली मण्डपको आठ लाखभन्दा बढीले अवलोकन गर्ने अपेक्षा गरिएको छ । मेलामा ३ सेप्टेम्बरलाई 'नेपाल डे' का रूपमा मनाइने भएको छ भने नेपालका विषयमा विभिन्न कार्यशालासमेत गरिने भएको छ । नेपालको लोकसंस्कृति झल्काउने कार्यक्रम गर्नुका साथै मेलामा नेपाललाई चिनाउन र एक लाखभन्दा बढी चिनियाँ पर्यटकलाई नेपाल भित्र्याउन विशेष कार्यक्रम गरिनेछ ।

सांघाई नयाँ चीनको प्रतीकः किसिन्जर
१९७२ मा मैले पहिलोपटक सांघाई भ्रमण गरेदेखि अहिलेसम्म दुनियाँ व्यापक परिवर्तनबाट गुज्रेको छ । सायद स्वयं चीनमा भन्दा अन्यत्र कतै यति बढी दूरगामी परिवर्तन भए होलान् । ओलम्पिक खेलको आतिथ्य प्रदान गर्दा चीनले विश्वलाई चकित तुल्याउने गरी उद्घाटन र समापन समारोह भव्यतापूर्वक सम्पन्न गरेको थियो, जसमा नाटकीय रूपमा चीनको आकासिँदो परिकल्पना र प्राविधिक परिस्कारको प्रदर्शन भएको थियो ।

एक शताब्दीभन्दा बढी समय सांघाई चीन तथा विश्वका महान् नगरमध्येको एक साबित भएको छ । यो सहर वाणिज्य क्षेत्रमा आकर्षणको केन्द्र, अन्तरसांस्कृतिक सञ्चारका लागि 'मौरीको घार', बौद्धिक उत्कृष्टताको केन्द्र तथा बाहिरी दुनियाँका लागि चीनको अनुहारका रूपमा रहिआएको छ ।
१९७२ को सांघाई घोषणाले अमेरिका-चीनबीचको कूटनीतिक सम्बन्ध स्थापना गर्न र हाम्रा दुई देशबीच सांस्कृतिक, शैक्षिक तथा व्यापारिक सम्बन्धको अति ठूलो वृद्धिका लागि मार्गप्रशस्त गरेको थियो । हाम्रो व्यापक बन्दै गएको सम्बन्ध यिनै खाँबोमध्येको एक खाँबोमा अडेको छ । 

विश्व एक्स्पो-२०१० ले सांघाईलाई फेरि विश्वको ध्यान तान्ने केन्द्रबिन्दु बनाउनेछ । यसका दर्शकदीर्घा र प्रदर्शनी हरेक महादेशका जनताका उत्कृष्ट प्रतिभा तथा उत्पादनका भरिपूर्ण सोकेस बन्नेछन् । विदेशी दर्शक पनि सांघाई कसरी रूपान्तरित भएको रहेछ भनी हेर्ने अवसर पाउनेछन्, चिनियाँ मित्र तथा परिचित व्यापारीसँग घुलमिल गर्न पाउनेछन् र सांघाईले देखाउने समृद्ध सांस्कृतिक तथा खाद्य व्यञ्जनको नमुना हेरेर आनन्द लिनेछन् ।

३७ वर्षअघि हामी यति लामो बाटो सँगसँगै हिँड्नेछौँ भन्ने कुराको कल्पना गर्न सकेका थिएनौँ । तर, दिशा सुनिश्चित थियो, उद्देश्य विकल्पहीन थियो र भविष्य उज्ज्वल देखिन्छ ।
म सांघाईका जनता तथा एक्स्पो-२०१० का आयोजकलाई तपाईंको ऊर्जा र अग्रसरताका कारण यो एक्स्पो सम्भव भएकोमा बधाइ दिन चाहन्छु र हरेक सफलताको कामना गर्छु । म मेरो परिवारसहित प्रदर्शनीमा राखिएका वस्तुको आश्चर्य हेर्न आउने पर्खाइमा छु ।

नेपालका लागि उदाहरणः प्रचण्ड

सांघाईमा २०१० मेबाट सुरु हुन लागेको वल्र्ड एक्स्पोको अवसरमा जनगणतान्त्रिक चीन र त्यहाँका जनतालाई शुभकामना प्रदान गर्न पाउँदा मैले गौरवान्वित महसुस गरेको छु । यो एक्स्पो विज्ञान, प्रविधि, औद्योगिक उत्पादनलगायत आर्थिक विकास र मानवीय उपलब्धि प्रस्तुत गर्ने मञ्च बनेको छ । यसैगरी, थुप्रै राष्ट्रको सक्रिय सहभागिताबाट एक्स्पो सांस्कृतिक अनुभव आदान-प्रदान गर्ने र समस्याको समाधान साट्ने थलो बन्नेछ । 

एक्काइसौं शताब्दीको विश्वमा राजनीति तथा आर्थिक क्षेत्रमा चीनको शान्तिपूर्ण अग्रतालाई प्रस्तुत गर्ने यो सुनौलो अवसर पनि हो । यो एक्स्पो अन्तर्राष्ट्रिय जगत् विशेषगरी नेपालका लागि पनि चासोको विषय हो । चीनले हासिल गरेको आधुनिक विकासबाट नेपालजस्तो कमजोर आर्थिक अवस्था भएको मुलुकलाई पूर्वाधार विकास, उच्च र दुईपक्षीय सहयोगमार्फत फाइदा पुग्छ भन्नेमा हामी विश्वस्त छौँ । 'राम्रो सहर, राम्रो जीवन' नाराका साथ १ मेदेखि ३१ अक्टोबरसम्म हुने यस एक्स्पोमा दुई सयभन्दा बढी देश र अन्तर्राष्ट्रिय संस्था लगायत सात करोड आगन्तुक सहभागी हुने अपेक्षा गरिएको मैले बुझेको छु । यस वल्र्ड एक्स्पोले इतिहासमा नयाँ कीर्तिमान राख्नेछ । सांघाईजस्तो तरंगपूर्ण सहरमा हुने यस एक्स्पोले विश्वलाई नयाँ रंग दिनेछ ।

सडक, पानी, सरसफाइ र सुरक्षाजस्ता सहरका अत्यावश्यक सबै पूर्वाधार र जनतालाई समृद्ध हुने अवसर प्रदान गर्ने चीनको सक्षमता र क्रियाशीलता 'राम्रो सहर, राम्रो जीवन' भन्ने नाराले पनि प्रतिविम्बित गर्छ जस्तो मलाई लाग्छ । चीनको यो सफलता विश्वका अन्य विकाशील देशका लागि पनि उत्कृष्ट उदाहरण हो । दिगो विकासको क्षेत्रमा चीनको उपलब्धि अन्य देश विशेषगरी दक्षिण एसियामा अनुकरणीय छ ।
आज हामी चिनियाँ मित्र सँगसँगै खुसीसाथ उत्सव मनाइरहेका छौँ । विश्व एक्स्पोको भव्य सफलताका लागि मेरो शुभकामना छ ।