सबैभन्दा सुन्दर आमा र सेक्सी झरना
• राजेश हमाल
अभिनेता
आफैँलाई म कति सुन्दर छु भनेर मूल्यांकन गर्न सहज छैन । त्यही पनि अरू सबैजस्तै म पनि आफ्नो रूपदेखि सन्तुष्ट छु । हरेक मान्छेमा केही न केही सुन्दरता हुन्छ । खासगरी शारीरिक सौन्दर्यभन्दा मान्छेमा अन्तर्निहित सौन्दर्य महत्त्वपूर्ण हो भन्ने कुरा तर्कपूर्ण लाग्छ मलाई ।
एकताका मान्छे फिल्मको हिरो भन्नेबित्तिकै 'चक्लेटी' अनुहार भएको भन्ने सोच्थे । यो मान्यता बिस्तारै बदलिँदै आयो । पर्दामा उदाउने मान्छे साह्रै चिटिक्क, सफा लुगा लगाएको र हेर्दा अरूभन्दा धेरै 'स्मार्ट' हुनुपर्छ भन्ने मान्यता सायद सौन्दर्यप्रतिको धारणामा आएको परिवर्तनका कारण बदलिँदै छ । अहिले फिल्मकारले पनि यही बुझ्न थालेका छन् । फिल्ममा खेल्ने मान्छेको विशेषतामा अरू पनि हुनुपर्छ, अन्तर्निहित विशेषताले मान्छे हिरो बन्ने हो भन्ने कुरा स्थापित हुँदै छ अहिले । चलचित्र हेर्ने विधा भएकाले आवरणीय सौन्दर्यलाई पनि नकार्न सकिँदैन । तर, हिरो बन्ने उसको क्षमताले नै हो ।
मेरो नजरमा नेपालका सबै हिरो/हिरोइन सुन्दर छन् । मान्छे सुन्दर हुन उसको आचरण र बोली-व्यवहार नै ठूलो कुरा हो ।
सौन्दर्यका विषयमा सबैको एउटै धारणा नहुन सक्छ । यो त हेर्ने मान्छेको आँखामा भर पर्ने कुरा हो भन्ने लाग्छ । सानोमा सोच्थेँ, संसारको सबैभन्दा सुन्दर कुरा केटी हो । उमेर परिवर्तनसँगै सौन्दर्यबारेमा मेरो धारणा बदलिँदै आयो । अहिले लाग्न थालेको छ- संसारमा सबैभन्दा सुन्दर कुरा केही छ भने त्यो आमा हो । र, मान्छेको मन पनि ।
सुन्दरताका विषयमा विविधि बिम्व सुनिन्छन्, पढिन्छन् । खासगरी साहित्यकारले आफ्ना रचनामा यो विविधता देखाउँछन् । विम्ब सापेक्ष रूपमा आउँछन् ।
मलाई सोध्ने गरिन्छ, युवती सौन्दर्यका प्रतीक हुन् कि होइनन् ? युवतीलाई सुन्दरताको विम्ब मान्ने कुराप्रति म सहमत छु, किनभने म पुरुष हुँ । कतिपय युवती साँच्चै राम्रा हुन्छन् । हामी युवतीको बाहिरी आवरणका कारण आकषिर्त हुन्छौँ, तर उसमा अन्तर्निहित विशेषता के हो जान्दैनौँ । यदि मनमा आनन्द छ भने मात्रै युवती अरू बढी सुन्दर लाग्छन् । जे भने पनि सुन्दरता मनसँग जोडिने कुरा हो ।
सौन्दर्यप्रति अवधारणामा त यसरी बदलाव आइरहेको छ भने फेसनको त कुरै भएन । यो पनि परिवर्तन सापेक्ष छ । मलाई लाग्छ- सबै मान्छे फेसनको पछि लागिरहेका छन् ।
सन पछयाउने मामलामा नेपाली सबैभन्दा अग्रस्थानमा छन् । कपाल रंग्याएर होस् कि जिन्स प्यान्ट प्वाल पारेर आफूलाई फेसनेबल देखाउन हामी सधैँ अग्रसर छौँ ।
तर, फेसन नपछयाउँदैमा घाटा हुन्छ, आफू समयभन्दा पछाडि परिन्छ भन्ने म सोच्दिनँ । तर, फेसनप्रति मेरो समग्र धारणा के हो भने यो परिवर्तन भइरहने कुरा हो । कतिपय अवस्थामा मान्छे आफूले फेसन पछयाएको/नपछयाएको उसैलाई थाहा हुँदैन । थाहै नपाई पछयाइरहेको हुन्छ ।
म जानेर कहिल्यै फेसन पछयाउँदिनँ । फेसन पछयाउने/नपछयाउनेप्रति मेरो आफ्नै परिभाषा छ । सबैको पहिरन छनोटमा आफ्नै धारणा हुन्छ । अरूको तुलनामा म फेसनेबल हुँ जस्तो लाग्दैन ।
बाहिर निस्कँदा औपचारिक वा अनौपचारिक कस्तो कार्यक्रम हो, त्यसको मर्मलाई ध्यानमा राखेर मैले आफ्नो फेसन तय गर्छु । साथीभाइको पार्टी हो भने सामान्य भएर जान्छु । कहिलेकाहीँ त जिन्स प्यान्टमा पनि गएको छु । सामान्य सर्ट, पाइन्ट लगाउन मन लाग्छ । तर, अलि ठूलै स्तरको पार्टी छ भने मान्यजन आउने पार्टी छ भने कोट, पाइन्ट नै लगाउँछु ।
मलाई कहिलेकाहीँ पत्रकारले सोध्छन्, 'राजेशजी तपाईंसँग कति जोर लुगा छन् ? कस्ता-कस्ता छन् ?' यो प्रश्नको ठयाक्कै उत्तर मसँग हुँदैन । लुगा यति जोर छन् भन्ने कसलाई थाहा हुन्छ र । स्वाभाविक रूपमा मलाई पनि थाहा छैन ।
फिल्म अभिनेता भएपछि यसले कुनै राम्रो डिजाइनरले डिजाइन गरेका लुगा मात्र लगाउँछ होला भन्ने सोच्दारहेछन् मान्छे । फेसनप्रति मेरो मोह सकिँदै गएर पनि होला मैले डिजाइन गराएर पहिरनको शैली तय गर्दिनँ । यस्तै लुगा लगाउनुपर्छ भन्ने पनि छैन । बजारमा चलेकोभन्दा अलि भिन्नखाले लुगा लगाउन मन लाग्नु स्वाभाविकै हो । सबैलाई यस्तै लाग्छ ।
फेसन स्टायलबारे अरूजस्तै म पनि कुनै टेलिभिजन कार्यक्रममा देखिएको डिजाइनबाट प्रभावित हुन्छु ।
छँदाका मेरो कतिपय पोसाक मसँग सुरक्षित छन् । कहिलेकाहीँ देखियो भने बाल्यकाल याद आउँछ । पुराना कुरा याद आउँछ । किशोर अवस्थासम्ममा मन परेका केही कोट, प्यान्ट, सर्ट र जुत्ता पनि सुरक्षित राखेको छु ।
फेसन भन्ने कुरा उमेरसँग पनि जोडिँदोरहेछ । उमेर र पहिरनमा मेल खानुपर्छ । नत्र समाजअनुरूप भइँदैन । पश्चिमाहरू उमेरअनुसार भन्दा पनि आफ्नो चाहनाअनुसार लुगा लगाउँछन् । आफूलाई सुहाउनेखालको लुगा छ भने जुनसुकै उमेरमा लगाए पनि फरक पर्दैन जस्तो लाग्छ । यसमा पनि म अरूभन्दा निकै फरक सोच्छु । बाल्यकालदेखि नै फेसनका कुरामा म अलिक विद्रोही छु कि भन्ने लाग्छ । फेसनेबल पहिरन लगाएर हिँड्दिनँ । अरूको देखासिकी गरेर म कहिल्यै लुगा लगाउँदिनँ ।
विश्वमा चलिआएको 'ट्रेन्ड' ले पनि के देखाउँछ भने फिल्मले फेसनलाई 'प्रमोट' गरेको हुन्छ । हामीकहाँ पनि फिल्म हेरेरै मान्छे फेसनप्रति 'कन्सस' हुने गरेका उदाहरण छन् । फिल्ममा हिरोले कपाल रंग्यायो वा उसको कपाल लरक्क लर्केको छ भने त्यो युवा दर्शक पनि कपाल रंग्याउनतिर लाग्छ । जिन्स प्यान्ट प्वाल पार्नतिर लाग्छ ।
खासगरी युवापुस्ता परिर्वतन अँगाल्ने स्वभावका छन् । फेसन पछयाउँदैमा मात्र आफू फेसनेबल बनिँदैन भन्ने हाम्रा तन्नेरीलाई थाहा छैन । अरूले जस्तो लगायो त्यस्तै लगाउन चाहने र अरूकै पहिरन पछयाउने उनीहरूको स्वभाव हुन्छ । तर, फेसन पछयाउनु भनेको परिवर्तनको साक्षी पनि बन्नु हो, परिवर्तन चाहनु हो ।
मेरो विचारमा कलिउडका कलाकारले पनि फेसनमा त्यत्तिकै रुचि देखाउँछन् । फिल्ममा होस् या बाहिर सबैतिर रुचि उजागर भइरहेको हुन्छ । करिश्मा मानन्धर, विपना थापा, रेखा थापा, झरना बज्राचार्यलाई मैले फेसन कन्सस कलाकारका रूपमा पाएको छु । मलाई सबैभन्दा सेक्सी अभिनेत्री झरना बज्राचार्य लाग्छिन् भने सबैभन्दा सुन्दर अभिनेत्री करिश्मा मानन्धर नै हुन् । त्यसैगरी सबैभन्दा फेसनेबल हिरो रमित ढुंगाना हो जस्तो लाग्छ । आर्यन सिग्देल, भुवन केसी पनि फेसनेबल हिरो हुन् ।
हामीले हाम्रै मौलिक फेसन हाकुपटासी, दौरा-सुरुवाल र फरिया-चोलीलाई प्रमोट गर्न खासै ध्यान दिएका छैनौँ । ती फेसन हाम्रा आफ्नै सम्पत्ति हुन् । ती मौलिक फेसनलाई नै प्रमोट गर्नु आवश्यक छ । यी शैलीलाई जोगाउन सक्नुपर्छ हामीले ।
सौन्दर्य प्रतियोगितामा कतै आहा भन्नेखालका राम्रा फेसन शैली पनि देखेको छु मैले । यस्ता प्रतियोगितामा कतै मौलिक फेसन देखिन्छन् भने कतै विकृतिमय पश्चिमाको भव्य प्रभाव देख्न पाइन्छ ।
मान्छे सुन्दर हुन फेसनको पछि लाग्नुपर्दैन । तर, फेसनले कतिपय अवस्थामा मान्छेको व्यक्तित्वलाई उजागर गर्न मद्दत गर्छ । फेसन नै सुन्दरता होइन । सुन्दर मान्छेलाई ओभर फेसनले भद्दा पनि बनाइदिन्छ । त्यसैले फेसन र सुन्दरताबीच भित्री सम्बन्ध छ ।
फेसनलाई आधार बनाएर 'दस जोड दुई' पुस्तालाई आलोचना गरेको पनि सुनिन्छ हामीकहाँ । उत्ताउलो फेसनको पुस्ता भनेर हाम्रा किशोर-किशोरीलाई दोष दिनुको कुनै अर्थ छैन । यो पुस्ताले त फेसनलाई पछयाएको मात्रै हो । यिनीहरू आफैँले फेसन 'क्रियसन' गरिरहेका होइनन् । टेलिभिजनमा देखिएको उत्ताउलो पहिरन लगाएर सहर चहार्छन् भने त्यो विकृति हो । युवाले नै फेसनमा विकृति भित्र्याए वा योगदान दिए भन्ने मलाई लाग्दैन ।
यो मनले सुसेलेको कसले सुनिदेला
गायिका अन्जु पन्तका कुरा उनकै शब्दमा
मेरो बुबालाई विद्रोही भन्न सकिन्छ । किनभने उहाँले तामाङ महिलासँग प्रेम-विवाह गर्नुभएको थियो । ०३५ सालतिर प्रेमविवाह गर्नु, त्यो पनि जात नमिल्नेसँग, ठूलै दुस्साहसको कुरा हुनुपर्छ । त्यसैले बुबालाई विद्रोही भनेकी । घरमा सांगीतिक वातावरण थियो । बुबा-आमा दुवै गीत भनेपछि हुरुक्कै हुनुहुन्थ्यो । म सानै हुँदा बुबा बित्नुभयो । त्यसैले, उहाँको धमिलो स्मृति मात्र छ मनमा । बुबा मादल बजाएर गीत गाउनुहुन्थ्यो, र आमा गीतको तालमा नाच्नुहुन्थ्यो । म पनि आमासँगै आँगनमा छमछमी नाच्थेँ । आमा भावुक प्रकृतिको हुनुहुन्थ्यो । अरुणा लामा, तारादेवीका गीत सुनेर आमा रोएको अहिले पनि सम्झिन्छु । त्यतिवेला म ४/५ वर्षकी थिएँ, होला ।
अहिले सोच्दा लाग्छ- बुबा गायन प्रतिभा भएको मानिस हुनुहुन्थ्यो । उहाँ बौद्धिक पनि हुनुहुन्थ्यो । उहाँको मीठो स्वरले मलाई आजसम्म पछ्याइरहेको छ । कहिलेकाहीँ लाग्छ- बुबाको धेरै प्रभाव परेर नै म गायिका भएकी हुँ ।
मलाई अहिले एउटा स्पेनी कहावत सम्झना हुन्छ- हामी जे चाहन्छौँ, त्यो पाउँदैनौँ । जे पाउँछौँ, त्यही मन पराउन सिकौँ । म बाँचुन्जेल बुबाको माया पाउन चाहन्थेँ, तर पाउन सकिनँ ।
०४६ सालको कुरा हो । आठ वर्षकी थिएँ, म । पुस महिनाको एक दिन । बुबा छतको पानीट्यांकीमा पानी कति छ हेर्न जानुभएछ । बुबाले टेकेको इँटा खुस्किएछ र उहाँ छतबाट खस्नुभयो । यो दुर्घटना भएको केही मिनेटभित्रै बुबाको निधन भयो । बुबाको टाउको यसरी छ्यालब्याल भएको थियो कि उहाँका आँखा बाहिर निस्किएका थिए । त्यो दृश्यको सम्झना मात्रैले पनि मेरो आङ सिरिंग हुन्छ । र, मन चिसो भएर आउँछ ।
अहिले त बुबाको लामो नाक मात्र याद छ । अरू सबै किरिङमिरिङ रेखा मात्रै । बुबा स्वर्गे भएपछि आमामाथि दुःखको पहाड खस्यो । हामी छोराछोरीलाई हुर्काउन कम्ती दुःख भएन उहाँलाई ।
छोरी गायिका बनोस् भन्ने बुबाको सपना थियो
रे ! आमाले भन्नुभएको । लाग्छ- मैले बुबाको सपनाको केही अंश पूरा गरेकी छु । बुबाको यादमा अहिले पनि आँखा भरिन्छन् । अहिले पनि एउटा रिक्तताको आभास भइरहन्छ । कवि बैरागी काइँलाको एउटा गीतले मलाई जहिले पनि बुबाको स्मृतिमा पुर्याउँछ- 'हरेक रात फुस्किन्छ प्यारको लिवास कति कमजोर रहेछ जिन्दगी उडीजाला कि यो वासना झरेर ढुंगाको सडकमा....'
ढुंगाको सडकमा झरेर उड्ने वासनाबारे लेखिएको यो गीत काइँलाले मेरै बुबाका लागि लेखेका हुन् कि झैँ लाग्छ ।
काठमाडौं, नक्सालको नन्दीरात्रि स्कुलकी दिवा समूहकी छात्रा हुँदैदेखि मलाई संगीतमोह जागेको हो । कुन घटनाले संगीतप्रति आकर्षण बढेको हो, त्यो त थाहा छैन । तर, घरमा नेपाली र हिन्दी गीत गाएर त्यसैमा हराउन मलाई खुब मज्जा लाग्थ्यो । नारायणगोपाल, गोपाल योन्जन, तारादेवी, अरुणा लामा, अरुण थापा, फत्तेमान र गुलाम अलीका गीत रेडियोमा बज्दा म ध्यान दिएर सुन्थेँ । गीतका शब्द कापीमा उर्ताथेँ र पछि त्यही लयमा गाउन थाल्थेँ । स्कुलको हरेक सांस्कृतिक कार्यक्रममा गीत गाउँथे । संगीतप्रतिको यस सम्मोहनले मेरो पढाइलाई प्रभाव पार्न सकेन । म सधैँ कक्षामा पहिलो हुन्थेँ ।
०५० सालतिर संगीतगुरु कृष्णमान डंगोलसँग मेरो भेट भयो । उहाँ मेरो भाग्य बनेर आउनुभयो । उहाँसँग संगीतशिक्षा लिन थालेँ । छिट्टै नै म गुरुको पि्रय शिष्या भएँ । म उहाँलाई बाबा भन्थेँ । 'तिमीसँग फरक प्रतिभा छ, निकै राम्रो गायिका बन्नेछौ,' बाबा यसै भन्नुहुन्थ्यो । उहाँ मलाई संगीत सिकाउन कति इच्छुक हुनुहुन्थ्यो भने बिहान पाँच बजे नै मेरो घरमा आउनुहुन्थ्यो । एकपटक सिकाएको गीत दोहोर्याएर कहिल्यै सम्झाउनुपरेन, उहाँले मलाई । 'कम्प्युटर हो मेरी चेली,' भन्नुहुन्थ्यो । संगीतगुरुका एक-एक शब्दलाई मैले प्रेरणा मानेकी छु ।
प्रशिक्षण दिन थालेको करिब तीन वर्षपछि अर्थात् ०५३ सालमा गुरुले मलाई रेकर्डिङका लागि तयार पार्नुभयो । उहाँको आफ्नै संगीतमा शिला पन्तले लेख्नुभएको 'मन वा मनै योगी बनाऔँ,' बोलको भजन मेरो रेकर्ड भएको पहिलो गीत हो ।
०५४ सालमा रेडियो नेपालको आधुनिक संगीत प्रतियोगितामा मैले भाग लिएँ । त्यसमा पनि मैले शिला पन्तले नै रचना गरेको 'सम्झी-सम्झी यो मायालाई चिठी लेख्दै छु,' गीत गाएँ । पुरस्कार पाउने आश गरेकी थिइनँ । त्यसैले, बेलुका रेडियो नेपालको समाचारको प्रतीक्षा नगरी सुतेँ । भोलिपल्ट बिहान गुरुले घरमै आएर भन्नुभयो, 'तँ मोरी त फस्ट भइछस् ।'
मनोज सेवा (मेरा पति)ले पनि त्यस प्रतियोगितामा भाग लिएका थिए । तर, उनी पुरस्कृत भएनन् । मनोज अहिले पनि भन्छन्, 'सांगीतिक पुरस्कार नपाए पनि जीवनको अनुपम पुरस्कार पाउने बाटो त्यहीँबाट खुल्यो ।' उनले मलाई पहिलोपटक त्यहीँ देखेका थिए । उनी मबाट धेरै प्रभावित भएछन् ।
मेरा ओठ देखेर धेरै आकषिर्त भएका छन् । तर, म गायनको उचाइ प्राप्त गर्न लागिपरेकी थिएँ/छु । त्यसैले, कसैलाई लिफ्ट दिइनँ । मलाई गाउने भोक जागेको थियो, अहिले पनि छ । त्यस भोकलाई मत्थर पार्न मैले अघाउन्जेल गीतको स्वाद लिएकी छु ।
म धेरै केटाका आँखाको लक्ष्य पनि भएँ । केटाहरू निकै पछि लाग्थे । म त हैरानै हुन्थेँ । मलाई पछयाउनेको लर्को हुन्थ्यो । 'हे भगवान् अन्जु पाऊँ' भन्नेहरू त कति-कति ! कुनै स्टुडियोमा बसेर गीत रियाज गरिरहँदा सुन्न आउने केटाहरूको ताँती हुन्थ्यो । धेरैले मलाई प्रेम-प्रस्ताव पनि राखे । तर, मैले कुनै केटा पछयाइनँ । मलाई केटाहरूको वास्तै हुँदैनथ्यो । उनीहरू पछि लागेको पनि त्यति नराम्रो लाग्दैनथ्यो । मेरो तन-मन गीतमै एकोहोरिएको थियो । आफ्नो जवानीलगायत सबै कुरा गीतमै लगाएकी छु भन्ने लाग्छ ।
आमा पनि मलाई सानैदेखि 'खुब राम्री छेस्' भन्नुहुन्थ्यो । मलाई अझै पनि केटाहरूले प्रेमका सस्ता कलियुगे संवाद बोलेर हैरान पार्छन् । 'म तपाइंलाई पाए अहिले पनि बिहे गर्छु,' भन्नेहरू पनि उत्तिकै छन् । 'आई लभ यू' भन्नेहरू अहिले पनि छन् । पाको उमेरका मान्छे पनि त्यसो भन्छन् । कति सोह्र/सत्रवर्षे पनि होलान् । पुरुषहरू चाँडै उद्वेलित हुन्छन्, राम्री केटी देखेपछि 'आई लभ यू' भनिहाल्छन् जस्तो लाग्छ मलाई । सायद केटाहरू गम्भीर हुँदैनन् ।
म प्रेममा परेँ, उनै मनोजसँग । वर्षां सँगै संगीत सिक्यौँ, हामीले । उनले मलाई खुब मन पराउँदारहेछन् । ६ वर्षसम्म उनले मलाई हेरेरै बिताएछन् । केटाहरू देखेपछि भाग्ने मैले पनि उनलाई माया गर्न थालेछु । उनले प्रेम-प्रस्ताव राखे ।
डेटिङका दिन अहिले पनि ताजै छन्, मनमा । धेरैजसो सुन्दरीजल जान्थ्यौँ । आफ्ना प्रेमका धून खोलाको छङ्छङमा सुन्थ्यौँ । खोलाकिनारको ढुंगामा घन्टौँसम्म पल्टेर पानीको ध्वनि सुनिरहन्थ्यौँ । खोलाकिनारमा प्रेम साटेको, घन्टौँसम्म अँगालोमा बाँधिएको र भविष्यका लागि योजना बनाएका ती दिन म कहिल्यै बिर्सन्नँ । मनोज जतिखेर पनि मलाई मात्र हेर्न चाहन्थे । हामी माया गरेर थाक्दैनथ्यौँ । एक-अर्काको अँगालोमा निदाएर माया साट्थ्यौँ । उहाँ पनि हद माया गर्ने, म पनि । मायामा थकान नहुनेरहेछ ।
कहिले नगरकोट, कहिले सुन्दरीजल, कहिले गोदाबरी पुग्थ्यौँ, हामी । एकपटक गोदाबरीमा गएका थियौँ । 'प्रेसर लो' भएर घुम्दाघुम्दै म त बेहोस भएछु । उनलाई बित्यास परेछ । पछि म ब्युँझँदा त पुतलीसडकको एउटा रेस्टुरेन्टमा पो रहेछु ।
हाम्रो प्रेम यति छिटो फस्टाएछ कि प्रेममा परेको थाहा पाएको दुई महिनामै हामीले बिहे गर्यौँ । ०५८ साल माघ १३ गते हाम्रो बिहे भयो । उनी मंसिरको, म असारकी । मंसिरको केटा र असारको केटी खोजिखोजी विवाह गर्छन् । हाम्रो त अनायासै मिल्न पुग्यो । ती दिनमा हामी बगेको खोला हेर्दै गीत गाउँथ्यौँ । लाग्थ्यो, हाम्रो गीत खोलाको पानीसँगै सुसेली हाल्दै जान्थ्यो । हामी त आफ्नै दुनियाँमा झुल्ने मान्छे ।
पहिले लुकी-लुकी चुरोट खान्थे मनोज । बिहे भइसकेपछि के र ? मेरै अघि खान थालेँ । पहिले, प्रेममा पुरुष आकाशको तारा पनि ल्याइदिन्छुजस्तो गर्छ । तर, पछि पानीको गाग्रो उचाल्न पनि मद्दत गर्दैर्न । महिलाको अपेक्षा पुरुष राम्रो होस्, रूप नराम्रो भए पनि व्यवहार राम्रो होस्, आफूलाई सधैँ माया गरिरहोस् भन्ने हुन्छ । उता, पुरुष भने महिलाको रूप र बान्की मात्र खोज्छ ।
मनोज अजीवका छन् । मलाई राति 'मसरुम सुप' खान मन लाग्यो भने जहाँबाट भए पनि ल्याइदिन्छन् ।
मैलेे धेरैका रक्स्याहा पति देखेकी छु । रक्सी खाएर श्रीमतीलाई कुट्नेहरू पनि देखेकी छु । त्यसो त मनोज पनि मद्यपान नगर्ने होइनन् । तर, मलाई कुट्नचाहिँ कुट्दैनन् । कहिलेकाहीँ पिएर राति अबेरसम्म पनि घर नआउँदा भने निकै रिस उठ्छ मलाई । म पनि पिउँछु । पिएर मात्तिएको वेला उनको बढी नै माया लाग्छ ।
मनोज, दीपक लिम्बू, सोम निरौला र मैले 'मौसम' चलचित्रमा गीत गाएका छौँ । त्यसवेलाको एउटा घटना यस्तो थियो- राति सात बजेदेखि रेकर्डिङमा बसेका थियौँ । लोडसेडिङका कारण त्यो रात स्टुडियोमै बसियो । रातभरि सुत्दै, उठ्दै, पानी छयाप्दै, फेरि रियाज गर्दै बस्यौँ । खुब भोक लाग्यो । खाने केही थिएन । बिहानीपख मनोजले ठमेलबाट मःम लिएर आए । त्यो खाएपछि मलाई तीन दिनसम्म पखाला चल्यो । साह्रै् कमजोर भइयो ।
'संयोग' एल्बममा भारतका चर्चित गजलकार जगजित सिंहसँग काम गर्ने मौका पाएँ । यो मेरो जीवनको सबभन्दा ठूलो खुसी हो । उहाँले माया गरेर 'राम्रो गाउनुहुँदोरहेछ,' भन्नुभयो । त्यसले मेरो हौसला बढयो ।
संगीतमा कुनै जमाना यस्तो थियो, हाम्रा गायक/गायिका आलु-चिउरा खाएको भरमा गीत गाउँथे । अहिले त्यसमा धेरै सुधार भएको छ । तर, चित्त बुझाउने ठाउँ भने छैन । एल्बममा गाउँदा खासै पैसा आउँदैन, फिल्ममा राम्रै आम्दानी छ । योभन्दा पनि राम्रोचाहिँ स्टेज-शोमा छ । त्यो पनि विदेशमा गएर गाउँदा हुन्छ । स्टेज-शोमा कहिलेकाहीँ त दिनमै २५/३० हजार हात परेको अनुभव छ । नेपाल टेलिकमकोे साउन महिनाको रेकर्डअनुसार मेरो 'न बिर्से तिमीलाई' गीत एक लाख २६ हजार सात सय ७२ पल्ट डाउनलोड भएर दोस्रो नम्बरमा परेको छ । टेलिकमले डेढ वर्षदेखि सञ्चालन गरेको सिआरबिटी सेवाबाट करोडौँ कमाइसकेको छ, तर कलाकार भने लाभान्वित भएका छैनन् ।
०६६ असार १३ गते नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रममा ९४ जना कलाकार एकैचोटि माओवादीमा प्रवेश गरे । चलचित्रकर्मी युवराज लामाको अगुवाइमा माओवादीमा प्रवेश गरेको नामको सूचीमा मेरो पनि पर्यो । मैले माओवादीमा प्रवेश गरेको भनेर मिडियाले हाइलाइट गर्यो । तर, मैले जानेर प्रवेश गरेको होइन । हामी दम्पतीलाई मञ्चमा बोलाइयो । मैले त सम्मानका लागि बोलाइएको भन्ठानेँ । प्रचण्डजस्तो मान्छेबाट सम्मान पाउँदा खुसी लाग्यो । वास्तवमा म त्यस कार्यक्रममा दर्शकका रूपमा मात्र पुगेकी थिएँ । ठूलो संख्यामा कलाकार माओवादीमा प्रवेश गर्न लागेको मलाई थाहा थिएन । म माओवादी भएको होइन । अन्जु पन्त देशको कलाकार हो, कुनै पार्टी-विशेषको होइन ।
ुई महिनाअघि महेन्द्रनगरमा हामी कन्सर्ट गर्न गएका थियौँ । ठूलो भीड थियो । म गीत गाउँदै थिएँ । माहोल तातिरहेको थियो । मैले अरू पनि गीत गाउनुपर्छ भनेर चर्को हुटिङ भयो । भीडमा झगडा सुरु भएछ । खुकुरी हानाहान भएछ । त्यो मेरो जीवनकै दुःखलाग्दो घटना हो ।
मलाई धेरैले सोध्छन्, तपाईंको दाम्पत्य जीवन कस्तो छ ? सन्तोषजनक छ, हाम्रो दाम्पत्य जीवन । दाम्पत्य जीवन र यौन एक-अर्काका परिपूरक हुन् । यौनलाई तुच्छ सम्झिनु ढोँग हो, पाखण्ड हो ।
नारी र पुरुषबीचको सबभन्दा ठूलो अन्तर यत्ति हो कि नारी कोमल हुन्छन्, पुरुष कठोर हुन्छन् । प्रकृतिले नै नारीलाई कोमल बनाइदिएको छ ।
फेरि आउनेछु म
जल शाह
अभिनेत्री
म सानोमा खुब लजालु थिएँ । लजालु पनि कतिसम्म भने आफ्नो नाम भन्न पनि साह्रै लाज लाग्थ्यो । सानै छँदा एक दिन ममी (प्रेमा शाह) ले फिल्म-डाइरेक्टर प्रकाश थापाकहाँ लिएर जानुभयो । उहाँले मलाई हेरेर हाँस्दै 'नानु तिम्रो नाम के
हो ?' भनेर सोध्नुभो । म हातको औँला मुखमा राखेर लजाएरै मात्र बसिरहेँ । एक शब्द पनि बोलिनँ । त्यसपछि प्रकाश सरले 'छोरी सानी छे, डान्स स्कुलमा हालिदेउ' भन्नुभयो । बाहिर निस्केपछि ममीले 'नाम भन्न पनि लाज मान्नुपर्छ' भन्दै भुत्ल्याएर दुई झापड हान्नुभयो । त्यसलगत्तै म वसन्त श्रेष्ठको स्कुलमा डान्स सिक्न थालेँ ।
मैले नौ कक्षा पढ्दै फिल्म खेल्न थालेको हुँ । त्यसवेला म १३ वर्षकी मात्र थिएँ । निर्देशक प्रकाश सायमीले 'फिल्म खेल्छौ भने ममीलाई सोधेर आऊ' भन्नुभो र ममीले पनि एकैपटक 'हुन्छ, जे गर्छौ राम्रो गर्ने प्रयास गर' भन्नुभो । प्रकाश सायमीले फिल्म अवतारबाट मलाई ब्रेक दिएका हुन् ।
पहिलो सुटिङ गोकर्णमा थियो । सुटिङमा मैले बोलेको पहिलो डायलग यस्तो थियो-श्रीमान्-श्रीमतीको सम्बन्ध भनेको नङ र मासुजस्तै हो । सुरुमा निकै अप्ठ्यारो र लाज पनि लागेको थियो । तर, राजेश हमालले निकै सहयोग गर्नुभयो । त्यो दिनको सम्झना मलाई सधैँ आइरहन्छ किनभने म त्यसवेला खुबै लजालु थिएँ र त्यसै दिनदेखि सार्वजनिक जीवनमा पहिलोपटक नलजाई प्रवेश गरेकी थिएँ ।
ममीको सपोर्टले नै म नायिका बनेकी हुँ । उहाँ सधैँ भन्नुहुन्थ्यो, 'राम्रो एक्टर बन्नुपर्छ, आफूले गर्ने सिनमा लजाउनुहुँदैन ।' फिल्ममा मैले धेरैपटक आमाको रोल गरेकी छु । तर, त्यसमा कुनै अनुभूति हुँदैनथ्यो । 'फिलिङ्स' भन्ने नै थिएन । एक वर्षअघि छोरी कलस जन्मेपछि थाहा भयो-आमा बन्न कति गाह्रो हुँदोरहेछ । फिल्ममा त आमा बनेको नाटक मात्रै गरिन्छ । टेक र रिटेकमै रमाइँदोरहेछ । तर, जिन्दगीमा रिटेक नहुने रहेछ ।
फिल्ममा अनेक रोलमा देखिएकी छु । आफूलाई चित्त नबुझी कुनै पनि रोल गर्दिनँ । नेपाली आममहिलाको चरित्र र जीवनशैली झल्कने रोल गरेँजस्तो लाग्छ । फिल्ममा कहिले बारगर्ल, कहिले बुहारी त कहिले डाक्टर, अनि धेरैपटक प्रेमिका बनेकी छु । फिल्म त जीवनकै प्रतिविम्ब हो । फिल्ममा जे गरिन्छ त्यो जीवनमा धेरैपटक देखिँदो/भोगिँदोरहेछ । आमाले भन्नुभएको थियो, 'सबै रोललाई राम्रोसँग निभाउन सक्ने मात्र असल एक्टर हो ।' आमाको यो बुझाई मेरो जीवनको मार्गदर्शन हो । आफूले निभाउन सक्यो भने सबै रोल एकसे एक हुन्जस्तो लाग्छ । फिल्ममा अभिनय गर्दा आमाका यी कुरा मनमा आइरहन्छ ।
मैले ५० भन्दा बढी फिल्ममा हिरोइन बनेर अभिनय गरेकी छु । तीमध्ये घुम्टो, बादलपारि, इज्जत, जेठो-कान्छो, मालती, बुहारी, राजु राजा राम सधैँ सम्भिइरहने फिल्म हुन् ।
हामीकहाँ सधैँ 'हिरोइनको अभिनय राम्रो हुँदैन' भन्ने गरिएको छ । 'अभिनय यसरी गर' भन्ने निर्देशकले हो । त्यो दोष त निर्देशकलाई पो दिन मिल्छ । कलाकारलाई राम्रो अभिनय गराउने क्षमता भएका निर्देशक नेपालमा एकदमै कम छन् ।
म चार वर्ष अमेरिका बस्दा नेपाली फिल्मलाई खुब 'मिस' गरेँ । हामीकहाँ नयाँ विषयवस्तुमा फिल्म बनाइँदैन । पुरानै र घिसिपिटी शैलीमा फिल्म बनाइन्छ । नेपाली फिल्ममा नक्कल गर्ने क्रम बढ्दै छ । हाम्रा आफ्नै विषयवस्तु छन्, फिल्म निर्माण गर्ने । हाम्रै गाउँघरका कथा र युद्धले दिएका घाउका विषयमा कत्ति राम्रा फिल्म बन्थे होलान् ! म फिल्मबाट टाढा भएको छैन । एक प्रकारको विश्राममा बसेको मात्रै हो ।


