Monday, August 16, 2010

खनालले समय दिएनन् : काँग्रेस नेता

एमाले अध्यक्ष झलनाथ खनालले अन्तिम अबस्थामा आएर कार्यव्यस्तताका कारण बैठकका लागि समय नदिएको काँग्रेस नेताहरुले गुनासो गरेका छन् ।

सोमबार दिउसो ३ बजे एमाले संसदीय दलको कार्यालयमा काँग्रेस र एमाले शीर्ष नेताहरुबीच बैठक बस्ने तय भएको थियो । 'हाम्रा सबै नेताहरु तयार भएर काँग्रेस संसदीय दलमा तयार भएर बसेका थियौं' काँग्रेस प्रबक्ता अर्जुननरसिंह केसीले भने, 'तर, अन्तिम् अबस्थामा आएर एक्कासी बैठक स्थगित गरियो ।'
केसीका अनुसार एमाले अध्यक्ष खनालले कार्यव्यस्तताका कारण अन्य नेताहरुलाई खवर गर्न नपाएकाले बैठक स्थागित गर्न आग्रह गरेका थिए । काँग्रेस नेताहरुले खनालले अन्तिम अबस्थामा आएर बैठक स्थगित गरेकोमा नमिठो महसुस भएको बताएका छन् ।

यसअघि बिहान काँग्रेस कार्यबाहक सभापति सुशील कोइराला, संसदीय दलका नेता रामचन्द्र पौडेललगायतका प्रधानमन्त्री माधवकुमार नेपाललाई भेटेर प्रधानमन्त्रीमा पौडेललाई सघाउन आग्रह गरेका थिए ।
प्रधानमन्त्री नेपालले राष्ट्रिय सहमतिको कुरा गरेपछि काँग्रेस नेताहरुसंग चर्काचर्की भएको स्रोतको दावी छ । 'हामीले माओवादीलाई भोट हालेपनि हाल्नोस् तर अनिर्णयको बन्दी नबनाउनुस् भन्यौ‌' बैठकमा सहभागी भए काँग्रेस नेताले भने ।
चौथों चरण सम्ममा पनि प्रधानमन्त्री चुनिन नसकेपछि माओवादी र काँग्रेस दुवैले एमालेलाई आफ्नो पक्षमा ल्याउन कोशिस गरिरहेको छ । तर, एमालेले भने राष्ट्रिय सहमतिले मात्र शान्ति र संविधानलाई टङु्गोमा पुर्‍याउन सक्ने उल्लेख गर्दै दुवै दललाई प्रधानमन्त्रीको उम्मेदवार फिर्ता लिएर सहमति निर्माणमा लाग्न आग्रह गरिरहेको छ ।

सभासद् यादवको राजधानीमा श्रद्धान्जली

नयाँदिल्ली स्थित सफदरजंग अस्पतालमा उपचारका क्रममा मृत्यु भएकी माओवादी सभासद रामकुमारी यादवको शव पार्टी कार्यालय पेरिसडाँडामा अन्तिम श्रद्धान्जलीका लागि राखिएको छ ।

सभासद् यादवको शवमा माओवादी अध्यक्ष पुष्पकमल दाहालले पार्टीको झण्डा ओढाएर श्रद्धान्जली अर्पण गरेका थिए । यस्तै प्रधानमन्त्र माधवकुमार नेपाल, गृहमन्त्री भीम रावललगायत मन्त्री तथा सभासदहरुले यादवप्रति श्रद्धान्जली अर्पण गरे । ग्यास सिलिन्डर चुहिएर आगो लाग्दा जलेकी यादवलाई उपचारका लागि गत शनिबार एयर एम्बुलेन्सबाट दिल्ली लगिएको थियो । उनको शनिबार साँझै उपचारका क्रममा मृत्यु भएको हो ।
माओवादी मधेस ब्युरोका अनुसार यादवको पार्थिव शरीरलाई मंगलबार उनकै कर्मथलो धनुषाको बरमझियामा मिथिला समुदायको उपस्थितिमा अन्त्येष्टि गरिनेछ ।
बाजुराको पाण्डुसेनमा स्थानीय बासिन्दाका बारीमा लटरम्म पाकेका स्याउ ।

आत्महत्या गरेका झापा विद्रोहका नेताका छोराले पनि आत्महत्या गरे

एमाले मुख्यालय बल्खुमा आत्महत्या गरेका झापा विद्रोहका नेता डिगेन्द्र राजवंशीका छोरा शम्भूले चार महिनापछि आत्महत्या गरेका छन् ।

झापाको दुवागढी- ५ स्थित आफ्नै घर नजिकै आइतबार दिउँसो शम्भूले आत्महत्या गरेका हुन् । शम्भूले माओवादी जनसेना भएर काम गरेका थिए ।

राजवंशीका दुई छोरामध्ये शम्भु कान्छा हुन् । जेठा छोरा ऋषिराज रोजगारीका सिलसिलामा साउदीमा छन् । आठ कठ्ठा जग्गा बेचेर उनी विदेशिएका हुन् । राजवंशीको परिवार दुहागढी-५ स्थित बस्दै आएका थिए । शम्भुकी आमा प्रमिला स्थानीय बजारमा प्याजी बेचेर आएको दुई चार रुपैयाँले घर खर्च टार्छिन् । आमा प्रमिलाले आफू बजार गएको बेला छोरा झुण्डिएको बताइन् ।

शम्भूलाई जागिर लगाउन नसकेको भन्दै चिन्तित डिगेन्द्रले गत भदौ ३ गते एमाले मुख्यालय बल्खुमा आत्महत्या गरेका थिए ।
डिगेन्द ०२८ सालमा नेकपा मालेबाट राजनीतिमा होमिएका थिए । ०३३ मा झापा आन्दोलन हुँदा सीपी मैनाली, आरके मैनालीका सहयात्री थिए । तत्कालीन मालेका नेताहरूलाई सेल्टर दिएर सघाएको आरोपमा राज्यविरुद्धको अभियोगमा उनलाई ९ वर्ष जेल चलान गरिएको थियो । ०४६ बाट उनी एमाले कार्यकर्ता भएका थिए ।

दाहालले राष्ट्रिय सहमतिको आहृवान गर्दै खनाललाई तीन बुँदे पत्र पठाए


माओवादी अध्यक्ष पुष्कमल दाहालले राष्ट्रिय सहमतिको आहृवान गर्दै एमाले अध्यक्ष झलनाथ खनाललाई तीने बुँदे पत्र पठाएका छन् ।

सोमबार माओवादी मुख्यालय पेरिसडाँडमा बसेको पदाधिकारी बैठकले सहमतीको लागि आब्हान गर्दै पत्र पठाउने निर्णय गरेको उपाध्यक्ष नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

पत्रमा सहमतिको वातावरण बने उम्मेदवारी फिर्ता लिन तयार रहेको उल्लेख गरिएको उनले बताए । साथै माओवादी ठूलो पार्टी भएकाले उसकै नेतृत्वमा राष्ट्रिय सरकार गठन हुनु पर्ने उनको जिकीर थियो । पत्रमा शान्ति र संविधान निर्माण प्रक्रिया सफल पार्न विश्वसनीय वातावरण निर्माण भएमा उम्मेदवारी फिर्ता लिने उल्लेख गरिएको छ ।
राष्ट्रिय सहमतीका आधार नामक पत्रमा भनिएको छ 'हाम्रो पार्टीले सहमतीय आधारमा राष्ट्रिय संयुक्त सरकार गठन गर्न, त्यसका लागि सबै राजनीतिक दलसँग छलफल तयार छौं ।'

बैठकले सभासद रामकुमारी यादवको शोक प्रस्ताव पारित गरेको छ । स्वर्गीय यादवको उपचारका क्रममा नया दिल्लीमा मृत्यु भएको थियो । साथै सभासद रामकुमार शर्मालाई भारतीय राजदूतावासका कर्मचारीले धम्क्याएको सम्बन्धमा मंगलवार दूतावासमा विरोध ज्ञापन पत्र बुझाउने समेत निर्णय गरेको छ ।