Monday, August 16, 2010

आत्महत्या गरेका झापा विद्रोहका नेताका छोराले पनि आत्महत्या गरे

एमाले मुख्यालय बल्खुमा आत्महत्या गरेका झापा विद्रोहका नेता डिगेन्द्र राजवंशीका छोरा शम्भूले चार महिनापछि आत्महत्या गरेका छन् ।

झापाको दुवागढी- ५ स्थित आफ्नै घर नजिकै आइतबार दिउँसो शम्भूले आत्महत्या गरेका हुन् । शम्भूले माओवादी जनसेना भएर काम गरेका थिए ।

राजवंशीका दुई छोरामध्ये शम्भु कान्छा हुन् । जेठा छोरा ऋषिराज रोजगारीका सिलसिलामा साउदीमा छन् । आठ कठ्ठा जग्गा बेचेर उनी विदेशिएका हुन् । राजवंशीको परिवार दुहागढी-५ स्थित बस्दै आएका थिए । शम्भुकी आमा प्रमिला स्थानीय बजारमा प्याजी बेचेर आएको दुई चार रुपैयाँले घर खर्च टार्छिन् । आमा प्रमिलाले आफू बजार गएको बेला छोरा झुण्डिएको बताइन् ।

शम्भूलाई जागिर लगाउन नसकेको भन्दै चिन्तित डिगेन्द्रले गत भदौ ३ गते एमाले मुख्यालय बल्खुमा आत्महत्या गरेका थिए ।
डिगेन्द ०२८ सालमा नेकपा मालेबाट राजनीतिमा होमिएका थिए । ०३३ मा झापा आन्दोलन हुँदा सीपी मैनाली, आरके मैनालीका सहयात्री थिए । तत्कालीन मालेका नेताहरूलाई सेल्टर दिएर सघाएको आरोपमा राज्यविरुद्धको अभियोगमा उनलाई ९ वर्ष जेल चलान गरिएको थियो । ०४६ बाट उनी एमाले कार्यकर्ता भएका थिए ।

No comments: