Tuesday, July 13, 2010

तीन महिनादेखि बन्धनमा

ऐँसेलुखर्क खोटाङकी ३५ वषर्ीया चन्द्रमाया निरौलालाई तीन महिनादेखि दाम्लोले बाँधेर राखिएको छ । १५ वर्षदेखि मानसिक सन्तुलन गुमाएकी चन्द्रमाया पछिल्लो समयमा आक्रामक बन्दै गएपछि बाँधेर राख्नुपरेको उनकी आमा दीर्घमाया लामिछानेले बताएकी छिन् ।
'घरकालाई मात्र होइन, गाउँलेलाई समेत जे पायो त्यहीले झटारो हान्ने गरेकाले बाँधेर राख्न बाध्य छु,' दीर्घमायाले भनिन्, 'छोरीको उपचारमा थुप्रै पैसा सकियो, तर निको भएन, अहिले यस्तो अवस्था आयो ।' तीन महिनाअघिदेखि छोरीलाई नबाँधी नहुने अवस्था आएको भन्दै दीर्घमायाले भनिन्, 'छोरीलाई दुवै हात बाँधेर राख्नुपर्दा साह्रै दुःख लागेको छ । छोरीको माया कुन आमाबाबुलाई नलाग्ला र ? तर के गर्ने, ज्यान जोगाउनै गाह्रो भयो । जे भेट्छे, त्यसैले आइलाग्छे ।'
६ सन्तानकी आमा चन्द्रमायाको उपचारमा आमा दीर्घम्ाायाले ३१ हजार रुपैयाँ खर्च गरिन् । 'धामीझाँक्री लगाउँदैमा ३१ हजार रुपैयाँ सकियो, तर रोग बीसको उन्नाइस भएन, दीर्घमायाले भनिन्, 'हात नबाँधे आफूले लगाएको लुगासमेत च्यातच्युत पार्छे । उसकै लाज ढाक्न पनि हात बाँधेर राख्न बाध्य छौँ ।' आर्थिक अभावमा छोरीको उपचार गर्न सहरका अस्पतालमा भने लैजान नसकेको उनले बताइन् । 'गाउँघरमै उपचार गरेर भएको पैसा सकियो, सहर लैजान कसरी सकिन्छ र ?' उनले दुःख पोखिन् ।
तीन छोरा र तीन छोरीकी आमा चन्द्रमाया निरौलाको उपचारमा उनका श्रीमान्ले समेत सकेको उपचार गरेका थिए । तर, रोग निको भएन । खोटाङ ऐँसेलुखर्क बिहे गरेर गएकी चन्द्रमाया अहिले माइती पावै, सोलुखुम्बुमै बस्दै आएकी छिन् । मानसिक सन्तुलन गुमाएकी चन्द्रमाया गर्भवती रहेको आमा दीर्घमायाले बताइन् ।

भानुको सम्झनामा

भानुभक्तलाई प्रेरणा दिने घाँसीको सम्झनामा निर्माण गरिएको तनहुँको घाँसीकुवा-५ स्थित पार्कमा भानुभक्त र घाँसीको सालिकमा मंगलवार अविर दलेर खेल्दै वालवालिका । भानु-घाँसी स्मारक पार्क व्यवस्थापन समितिले मंगलवार १ सय ९७ औं जन्मजयन्ती मनायो ।

भानु जयन्तीका अवसरमा राजधानीका विद्यार्थीले निकालेको र्‍याली। तस्बिर:विजय गजमेर

२२ दलद्वारा प्रमुख तीन दल विरुद्ध खेद प्रस्ताव पारित

संविधानसभामा प्रतिनिधित्व गर्ने २२ दलले प्रमुख तीन दल विरुद्ध खेद प्रस्ताव पारित गरेको छ । तराई-मधेस लोकतान्त्रिक पार्टीको संसदीय दलको कार्यालयमा मंगलबार बसेको बैठकले शान्ति प्रकृया र संविधान निर्माण अघि बढाउन नसकेकोमा माओवादी, कांग्रेस र एमाले विरुद्ध खेद पारित गरेको हो ।
बैठकपछि जनशक्ति पार्टीका नेता प्रकासचन्द्र लोहनीले प्रमुख तीन दलको सत्ता लुछाचुडीका कारण शान्ति र संविधान अलपत्र परेको बताए ।
ति दलले संविधानसभाबाटै नयाँ सरकार बनाउन प्रमुख तीन दललाई दवाव दिने भएका छन् । सहमतिमै राष्ट्रिय सरकार निर्माण गर्न उनीहरुले प्रमुख दललाई दवाव दिने भएका छन् ।