Thursday, July 15, 2010

सुजाता बैठक छाडेर बाहिरिइन्, नेतृत्व निर्णयविहीन

काठमाडौं - कङ्ग्रेसका वरिष्ठ नेताहरु छलफलमा रहिरहेकै अवस्थामा नेतृ सुजाता कोइराला बैठकबाट बाहिरिएका छिन्। 'काम न काजको छलफल भइरहेको छ,' पार्टी कार्यालय सानेपाबाट बाहिरिँदा नागरिकसँग भनिन्, 'वैठक बोलाएर अल्मल्याउने काम मात्र भएको छ।' 
कसले नेतृत्व गर्ने भन्ने विषयको विवाद टुङ्ग्याउँन कार्यबाहक सभापति कोइराला, वरिष्ठ नेता शेरबहादुर देउवा, प्रकाशमान सिंह, कुलबहादुर गुरुङ लगायतका नेताहरुको बिहानैदेखिको छलफल नटुंगिएपछि कोइराला आक्रोशित भएर बाहिरिएकी हुन्। अन्य केन्द्रीय सदस्यहरुले पनि आधा घन्टामा पदाधीकारी विवाद नटुंगिने हो भने वैठक बहिस्कार गर्ने चेतावनी दिएका छन्।
कङ्ग्रेस संसदीय दलको नेता रामचन्द्र पौडेलले आगामी सरकारको नेतृत्व गर्ने कार्यवाहक सभापति सुशील कोइरालाले प्रस्ताव गरेलगत्तै हिजोको वैठकमा सुजाताले विरोध जनाएकी थिइन्। सरकार नेतृत्वबारे सुरुमै मतभेद देखिएपछि आज बिहान ११ बजे बस्ने भनिएको केन्द्रीय समितिको वैठक अपरान्हसम्म पनि बस्न सकेको छैन्।
पदाधीकारी वैठकपछिमात्रै कङ्ग्रेस केन्द्रीय समितिको वैठकले सरकारमा जाने या नजाने निर्णय लिने छ। सरकारमा जाने भए कसको नेतृत्व रहने हो त्यसको पनि छिनोफानो गर्न वैठक बोलाइएको हो।

क्रान्ति जारी रहने: भट्टराई

गोरखा- एकीकृत नेकपा (माओवादी)का उपाध्यक्ष डा बाबुराम भट्टराईले जनताको राज्यसत्ता स्थापना नहुँदासम्म क्रान्ति जारी रहने र क्रान्तिको बाटो शान्तिपूर्णरुपमा अगाडि बढिरहेको दाबी गरेका छन्। 
घ्याल्चोक गाविसमा आयोजित भेटघाटमा उनले अत्यधिक बहुमत हासिल गर्दागर्दै पनि प्रतिक्रान्तिकारीले अगाडि बढ्न नदिएको आरोप लगाए।
'जनताले चाहेअनुसार ठूलो शक्ति भएको कारणबाट एकीकृत नेकपा (माओवादी)को नेतृत्वमा सरकार बन्नुपर्ने हुन्छ, जनताको चाहना पनि त्यही हो', उनले भने।
उनले आजै गोरखाको घ्याल्चोकमा रहेको सहित स्मृति तरकारी उपभोक्ता सहकारी सङ्घ र लोकहरि सहकारी उपभोक्ता संस्था र वडहरे लिफ्ट इरिगेसनको समेत अवलोकन गर्नुभयो।

सरकारको नेतृत्वबारे कांग्रेसमा मतभेद

काठमाडौं- कांग्रेस केन्द्रीय समितिमा पार्टी नेतृत्वमा सरकार गठनसम्बन्धी विवाद सुरु भएको छ। बुधबारको बैठकमा कांग्रेस कार्यवाहक सभापति सुशील कोइरालाको सरकारको नेतृत्वसम्बन्धी प्रस्तावमाथि केन्द्रीय सदस्यहरुले प्रारम्भमै विरोध गरे। 
संसदीय दलका नेता रामचन्द्र पौडेलले सरकारको नेतृत्व गर्ने प्रस्तावमा केन्द्रीय सदस्यले विमति जनाएपछि बैठक बिहीबारसम्म स्थगित गरिएको छ।
बैठकमा कोइरालाले प्रस्ताव छलफलमा ल्याउनेबित्तिकै केन्द्रीय सदस्य गोविन्दराज जोशी र सुजाता कोइरालाले सरकार गठनको औचित्यमै प्रश्न उठाए। जोशीले सरकारमा जानुपर्ने कारण नीतिगत रुपमा स्पष्ट गर्न माग गरे भने सुजाताले हतारिएर सरकारको नेतृत्व लिन नहुने धारणा राखिन्।
‘बहुमतीय सरकारको नेतृत्व लिनेबारे दसचोटि सोच्नुपर्छ,' बैठकपछि सुजाताले संवाददातासँग भनिन्, ‘माओवादीलाई पन्छाएर संविधान बन्दैन।' 
माओवादीसँग आफ्ना अडान यथावत राख्दै सम्पर्क बढाउनुपर्ने उनको भनाइ थियो। ‘मलाई कांग्रेसबाट को प्रधानमन्त्री हुन्छ भन्ने सरोकार छैन,' उनले भनिन्, ‘कांग्रेस नेतृत्वको सरकारबाट संविधान लेखिन्छ कि लेखिँदैन भन्ने मात्र हो।' 
कार्यवाहक सभापति कोइराला र पौडेल कांग्रेस नेतृत्वको सरकार गठनको गृहकार्यमा जुटिरहेका बेला नेतृत्व लिने या नलिने सैद्धान्तिक निर्णय गर्नुपर्ने चुनौतीपूर्ण अवस्था आएको छ। 
‘पार्टी सरकारमा सहभागी हुने कि नहुने सैद्धान्तिक बहस सुरु भएको छ,' पार्टी प्रवक्ता अर्जुननरसिंह केसीले संवाददातासँग भने, ‘पार्टीले सरकार निर्माणको नेतृत्व लिने कि नलिने टुंगो लागेपछि मात्र व्यक्तिको टुंगो लाग्छ।' सहमति हुन नसके पार्टी र संसदीय दलको विधानअनुसार निर्णय लिने उनले बताए।
एक महिनायता कांग्रेसमा सरकारको नेतृत्व कसले लिने भन्ने विवाद चलिरहेको छ। कार्यवाहक सभापति कोइरालाले संसदीय दलका नेता रामचन्द्र पौडेलको पक्षमा लबिङ गर्दै आएका छन् भने बरिष्ठ नेता शेरबहादुर देउवा र महामन्त्री कुलबहादुर गुरूङले समेत नेतृत्वको दाबी गरिरहेका छन्। पौडेलविरुद्ध देउवा र गुरूङको सहकार्य कायम छ।
केन्द्रीय समिति र संसदीय दलमा पौडेलको पकड छ भने कांग्रेसको अर्को निर्णायक निकाय संसदीय बोर्डमा देउवा र गुरूङको गठबन्धन बहुमतमा छ। बुधबार केन्द्रीय समिति बैठक क्रममा देउवा र गुरूङबीच पटकपटक देउवा कार्यकक्षमा भेटवार्ता गरेका थिए। 
पौडेलको नाम प्रधानमन्त्रीमा प्रस्ताव गर्ने गृहकार्य बुधबार बिहानमात्र भएको स्रोतले जनाएको छ। कोइराला निवास महाराजगन्जमा सुशील, पौडेल र नजिकका केही नेताले केन्द्रीय समितिमा प्रस्ताव राख्ने रणनीति बनाएका थिए। 
‘कांग्रेस नेतृत्व सरकारको मुद्दा बेमौसमको बाजा जस्तै भयो,' उपसभापति गोपालमान श्रेष्ठले भने, ‘बल्ल सरकारमा जाने कि नजाने भन्ने आधिकारिक छलफल सुरु भएको छ।' 
पालैपालो नेतृत्व: बास्तोला
केन्द्रीय समितिमा सुरु भएको छलफलबाट कांग्रेसको नेतृत्वका सरकार नबन्ने अवस्था बनेको केन्द्रीय सदस्य चक्रप्रसाद बास्तोलाले बताए। ‘आजको बैठकका आधारमा भन्ने हो भने कांग्रेसको सरकार बन्दैन,' बास्तोलाले नागरिकसँग भने, ‘म अर्को बैठकमा सरकार निर्माणको चक्रीय अवधारणा राख्छु।'
माओवादी, कांग्रेस र एमालेले मिलेर सरकार बनाउनुपर्ने र पालैपालो नेतृत्व लिने उनको अवधारणामा छ। 
‘यसरी सरकार बन्यो भने ४ सय ६० सभासद्को समर्थन हुन्छ,' बास्तोलाले भने, ‘दुई तिहाइको त्यस्तो सरकार दिगो पनि हुन्छ।'

पर्वतको दुर्लुङ गाविसकी पुण्यवती शर्मा र लालवहादुर सुनार अन्तरजातीय विवाह गरेपछि तस्बिर खिचाउँदै । केटी पक्षबाट विवाह नगर्न दवाव दिएपछि दलित अधिकारकर्मीहरुको सहयोगमा दुबैजना विवाह वन्धनमा बाँधिएका हुन् । फोटोग्राफर : विमल खतिवडा 

कास्की पोखरामा पहिरो




कास्कीको पोखरामा गएराति गएको पहिरोका कारण जोखिममा परेको घर साथमा सुरक्षाकर्मीहरु उद्धार गर्दै ।

अपहरणकारी सार्वजनिक


डा.भक्तमान श्रेष्ठ अपहरण काण्डमा पक्राउ परेका तीन अभियुक्त बायाँबाट क्रमस: बद्री ढुङ्गाना, नविन क्षेत्री र सुनिल श्रेष्ठ । डा.श्रेष्ठलाई भीमसेन पण्डित समूहले अपहरण गरेको प्रहरीको दाबी छ ।