
'केही व्यक्तिको मनोमानीमा पार्टी चल्यो'-
तिलक पाठक, काठमाडौं, पुस १६ - तराई मधेश लोकतान्त्रिक पार्टी (तमलोपा) विभाजित भएको छ। सरकारका दुई मन्त्रीसहित तमलोपाका असन्तुष्ट पक्षका नेताहरुले नयाँ दल तमलोपा नेपाल दर्ता गराएका छन्। तमलोपका महामन्त्रीसमेत रहेका उद्योग मन्त्री महेन्द्र राय यादवको नेतृत्वमा ९ सभासदसहितको नयाँ दल दर्ता गरिएको हो।
तमलोपाबाट पार्टीका सह-महामन्त्री तथा उद्योग सहायक मन्त्री दानबहादुर चौधरी, सभासद्हरु गोविन्ध चौधरी, रमणी राम, अरविन्द साह, चन्दन साह, उर्मिला महतो, सुमित्रा यादव र तलाउद्दिन मुसलमान नयाँ पार्टीमा गएका छन्।
दानबहादुर चौधरीले नयाँ पार्टी गठन तथा दर्ता गरिएको नागरिकन्युजलाई जानकारी दिए। उनका अनुसार सभामुख सुभाष नेम्वङसँग परामर्श गरेर व्यवस्थापिका संसदमा छुट्टै दल दर्ता गराइएको छ। उनले केही सीमित व्यक्तिको मनोमानी ढंगमा पार्टी संचालन हुँदै आएको र अधिकांश निर्णयहरु गर्दा आफूहरुलाई सहभागी नबनाइएको भन्दै नयाँ पार्टी खोल्न वाध्य भएको जानकारी दिए। 'मुलुक एकात्मकबाट गणतान्त्रिक र संघीय बन्दैछ तर पार्टी सामुहिक नेतृत्वमा गएन,' चौधरीले नागरिकन्युजसँग भने, 'वैठक वोलाउनुपर्यो भन्दा अध्यक्षले वास्ता गरेनन् र नयाँ दल बनाउन बाध्य भयौं।'
असन्तुष्ट पक्षले पार्टी अध्यक्ष महन्त ठाकुर, नेताहरु हृदयश त्रिपाठी तथा सर्वेन्द्रनाथ शुक्लले एकलौटीरुपमा निर्णयहरु गर्दै आएको आरोप लगाएको छ। पार्टीमा पदाधीकारीमाथि कारबाही गर्दासमेत एकलौटीरुपमा निर्णय हुने गरेको आरोप उनीहरुले लगाएका छन्।
No comments:
Post a Comment