Wednesday, July 14, 2010

प्रचण्डको विकल्पमा भट्टराईः राम कार्की


काठमाण्डौ- पार्टी अध्यक्ष प्रचण्डको नेतृत्वमा सहमति जुटन नसकेपछि एकीकृत नेकपा माओवादीले सहमतिको अन्तिम प्रयास स्वरुप प्रचण्डको विकल्पमा पार्टीका उपाध्यक्ष डा. बाबुराम भट्टराईलाई सहमतिको सरकारको प्रधानमन्त्रीको रुपमा सार्ने भएको छ ।
राजधानीमा बुधबार आयोजित साक्षत्कार कार्यक्रममा माओवादी पोलिटब्यूरो सदस्य राम कार्कीले त्यस्तो खुलासा गर्नुभएको हो ।
नेता कार्कीले भन्नुभयो, ‘सहमतिको सरकारकालागि अन्य दलले नपत्याएको अवस्थामा पत्याउने नेतालाई अगाडि सार्नु पर्छ । हाम्रो पार्टीले पनि त्यही गर्न लागेको हो ।’
उहाँले अन्य दलले समेत भट्टराईको नाममा जोड दिएकोले सहमतिको लागि माओवादी प्रचण्डको विकल्प दिन तयार भएको जानकारी दिनुभयो ।
नेता कार्कीले भन्नुभयो, ‘एक दुई दिनमै पार्टीको स्थायी समिति वा पोलिटब्यूरोको बैठक बसेर डा. भट्टराईलाई भावी प्रधानमन्त्रीको रुपमा अगाडि सार्दै छौं । सहमति हुन नसकोको अवस्थामा कम्तिमा दुई तिहाई बहुमतको सरकार निर्माण गर्ने विषयमा पनि सोही बैठकले पार्टीको पुरानो धारणालाई परिवर्तन गर्ने छ ।’

कांग्रेस, एमाले र मधेसवादी दलले समेत भट्टराईको नाममा सहमति बन्न सक्छ भनेर सार्वजनिक अभिब्यक्ति दिईरहेको अवस्थामा भट्टराईको नाम पार्टीले अगाडि सारे ती दलहरु नैतिक दवावमा पर्ने समेत उहाँको भनाई थियो ।

उहाँले भन्नुभयो, ‘कांग्रेसको नेतृत्वमा कुनै हालतमा हामी सरकार बन्न दिंदैनांै ।’

उहाँले जनयुद्धकालमा समानान्तर सरकारको सफल सञ्चालन गरिसकेको र अर्थमन्त्रालय समेत उदाहरणीय ढंगले सञ्चालन गरेकोले भट्टराईमाथि जनताको अपेक्षा बढी रहेको समेत बताउनुभयो ।नेता कार्कीले बहुमतीय सरकारले शान्ति र संविधान निर्माण गर्नु पर्ने जिम्मेवारी पुरा गर्न नसक्ने बताउँदै कुनै पनि खाले बहुमतीय सरकारमा माओवादी सहभागी नहुने समेत सो अवसरमा स्पष्ट पार्नुभएको थियो ।

भारतीय नक्सलबादी माओवादी सँगको सम्बन्धको बारेमा राखेको जिज्ञासामा कार्कीले भन्नुभयो, ‘भारतीय माओवादीसँग अहिले हाम्रो सैद्धान्तिक सम्बन्ध छ । पहिले कार्यगत सम्बन्धै थियो । हामीले भारतीय संस्थापन पक्षले मुक्तीका लागी लडेका जनतामाथि दमन गरेकोले हामीले भारतको विरोध गरेका हौं ।’

No comments: